२ गते कार्तिक, सिराहा, विष्णुपुर – सिरहा जिल्लाको साविक राजपुर गाविस वडा नम्बर ५ (हाल विष्णुपुर गाउँपालिका वडा नम्बर २, गढिया) का ऐतिहासिक राजनीतिक तथा सामाजिक नेता स्व. सती साहको भौतिक अवसान वि.सं. २०७२ साल कात्तिक ५ गते भएको थियो उहाँको स्वर्गवास भएको वर्षौं बितिसक्दा समेत गढिया र सिराहाको सामाजिक क्षितिजमा उहाँको न्यायपूर्ण र निस्वार्थी विरासत थाम्न सक्ने सच्चा उत्तराधिकारी अझैसम्म भेटिन सकेको छैन।
एक दशकभन्दा बढी समयदेखि गढिया समाजले एउटा यस्तो रिक्तता भोगिरहेको छ, जसलाई भर्नका लागि न त कुनै नयाँ सामाजिक अभियन्ता अगाडि आउन सकेका छन्, न त स्थानीय राजनीतिक नेतृत्वले नै त्यो साहस देखाउन सकेको छ। स्व. साहको विचार र कार्यशैलीको उत्तराधिकारी नजन्मिँदा आज समाज आन्तरिक कलह र अदालती झमेलाको दलदलमा झन्–झन् फस्दै गएको छ।
स्व. सती साह बाँच्दासम्म गढिया र सिराहाका विभिन्न ग्रामीण भेगका गरिब, विपन्न तथा उत्पीडित वर्गका लागि उहाँ नै ’अदालत र प्रहरी’ हुनुहुन्थ्यो। २००७ सालको प्रजातन्त्र बहाली र किसान आन्दोलनको जगबाट उठ्नुभएका साह शक्तिको अगाडि कहिल्यै झुक्नुभएन। उहाँको पञ्चायती (मेलमिलाप) मा सबैका लागि समानता र सामाजिक न्याय हुन्थ्यो, जसले गर्दा गाउँका ठूला–ठूला कलह पनि केही घण्टामै साम्य हुन्थे।
तर उहाँको मृत्युपश्चात्, गढियामा पञ्चायतीमार्फत निस्वार्थ रूपमा मन जोड्ने र कलह मिलाउने त्यो सुनौलो युगको अन्त्य भएको छ। आज उहाँको जस्तो वजनदार, निष्पक्ष र सर्वस्वीकार्य व्यक्तित्वको अभावमा गाउँका साना–तिना विवाद पनि तत्कालै प्रहरी चौकी वा जिल्ला अदालतसम्म पुग्ने गरेका छन्।

स्व. साहको स्वर्गवास भएको लामो समयसम्म पनि उत्तराधिकारी नभेटिनुको मुख्य कारण आजको नेतृत्वमा देखिएको स्वार्थ र राजनीतिक पूर्वाग्रह हो। वर्तमान समयमा स्थानीय तहमा मेलमिलाप केन्द्र वा पञ्चायती त बस्छन्, तर त्यहाँ कि त राजनीतिक दलको रंग देखिन्छ, कि त धनी र शक्तिशाली वर्गको प्रभाव।
सर्वसाधारणले स्व. सती साहलाई जस्तै आँखा चिम्लेर विश्वास गर्न सक्ने निष्कलंक नेता आजसम्म पाउन सकेका छैनन्। उहाँको जस्तो निःशुल्क, व्यावहारिक र दुवै पक्षलाई चित्त बुझाएर ’विन–विन’ (दुवै पक्षको जित) को रणनीतिमा ढाल्ने मध्यस्थकर्ताको खडेरीले आज गढियाबासी आफैंलाई टुहुरो महसुस गरिरहेका छन्।
२२ वर्षकै युवा उमेरमा किसान संगठनबाट यात्रा सुरु गरी वडा अध्यक्ष र जिल्ला सभा सदस्यसम्मको जिम्मेवारी निष्कलंक रूपमा निभाउनुभएका स्व. साहको इतिहास केवल पानामा मात्र सीमित हुने खतरा बढेको छ। उहाँको परिवार, गढियाका युवा पुस्ता वा स्थानीय नेताहरूमध्ये कसैले पनि उहाँको पदचापलाई पूर्ण रूपमा पछ्याउन नसक्नु दुःखद पक्ष हो।
स्व. सती साह जस्तो ओजस्वी न्यायमूर्ति भौतिक रूपमा पुनः फर्किएर आउने त होइनन्, तर उहाँले देखाउनुभएको सामाजिक न्याय, समानता र आपसी सद्भावको मार्गचित्रलाई आत्मसाथ गरेर आजको अदालती दौडधुप अन्त्य गर्न कुनै न कुनै युवाले अगाडि सर्नु आवश्यक छ। उहाँको देहावसानको वर्षौंसम्म पनि उत्तराधिकारीको खोजी गरिरहेको गढिया समाजले कहिले नयाँ ’अभिभावक’ पाउने हो, त्यो भने भविष्यकै गर्भमा छ।










