८ गते कार्तिककल्याणपुर , सिरहा|
मिथिला संस्कृतिको ऐतिहासिक परम्परालाई निरन्तरता दिँदै आज कोजाग्रत पूर्णिमाको पावन अवसरमा सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ स्थित रामजानकी मन्दिरबाट कल्याणपुर वडा नम्बर १० नयाँ टोलमा रहेको जानकी मन्दिरमा भव्य ‘भार’ (कोसेली/पाहुर) पठाइएको छ।
त्रेतायुगमा माता सीता र भगवान् श्री रामको विवाहपछि मिथिलाका राजा जनकले पहिलो पटक ज्वाइँको घरमा उपहार पठाएको धार्मिक मान्यतालाई स्मरण गर्दै समस्त कल्याणपुरबासीको अगुवाइ र सक्रियतामा यो परम्परागत भार पठाइएको हो।
रामजानकी मन्दिर परिसरबाट विशेष रूपमा सजाइएका डालीहरूमा मखान, पान, दही, चिउरा, विभिन्न मिठाई, फलफूल र नयाँ वस्त्रसहितको विशेष कोसेली तथा पाहुर लिएर निस्किएको टोली बाजागाजा र परम्परागत मैथिली लोकगीत गाउँदै वडा नम्बर १० को नयाँ टोल पुगेको थियो। नयाँ टोलमा भारको यो पावन पाहुर बोकेर पुगेको टोलीलाई स्थानीय नयाँ टोलबासीले भव्य स्वागत गर्दै त्यहाँ अवस्थित जानकी मन्दिरमा भित्र्याएका थिए।

स्थानीय अगुवाहरूका अनुसार, कल्याणपुरबासीको तर्फबाट वडा नम्बर ११ को मन्दिरबाट वडा नम्बर १० को नयाँ टोलस्थित जानकी मन्दिरमा यसरी सामूहिक रूपमा पाहुर पठाइनुले भगवान् रामलाई मिथिलाको ज्वाइँ मान्ने आस्थालाई मात्र जीवन्त राखेको छैन, बरु दुवै वडाका बासिन्दा र स्थानीय समाजमा आपसी भाइचारा, सांस्कृतिक एकता र सद्भावलाई समेत थप मजबुत बनाएको छ।
यस परम्पराको इतिहास बुझ्दै जाँदा, बीचमा दुई वर्षसम्म यसै नगरपालिकाको वडा नम्बर २ स्थित चतरी गाउँमा भार (पाहुर) पठाउने कार्य गरिएको थियो। चतरीमा दुई वर्ष भार पठाइए तापनि, पछि पुनः नयाँ टोल कल्याणपुरलाई नै यो ऐतिहासिक परम्परा सुम्पिँदै निरन्तरता दिने गरिएको छ।
कल्याणपुरको यस ऐतिहासिक भार परम्पराले यस वर्ष ११ वर्ष पार गरी १२ औँ वर्षमा प्रवेश गरेको छ। वर्षौँदेखि निरन्तर चलिआएको यस अनुपम कार्यले दुई वडा बीचको आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वलाई मजबुत बनाउनुका साथै पौराणिक मैथिली परम्परालाई अक्षुण्ण रूपमा जीवन्त राख्ने काम समेत गरेको छ।







