– सर्वस्व त्याग्ने नेताको एउटा शालिकसम्म बनाउन नसक्ने स्थानीय सरकार र समाजको बैगुनी व्यवहार
११ कार्तिक ,सिरहा,बेलहा
पञ्चायत कालमा गाउँको प्रधानपञ्च र ‘गाउँ फर्क राष्ट्रिय अभियान’ को जिल्ला अध्यक्ष हुँदै देशको कृषि तथा उद्योग मन्त्री र बहालवाला सांसद सम्मको ऐतिहासिक विरासत बोकेका नेता कृष्णचरण श्रेष्ठको बीभत्स हत्या भएको लामो समय पुग्न लाग्दा पनि पीडित परिवार र सिरहाली जनताले न्याय पाउन सकेका छैनन्। तत्कालीन सशस्त्र समूह तराई जनतान्त्रिक मुक्ति मोर्चाद्वारा उनकै गृहगाउँ बेल्हामा गरिएको क्रूर हत्याको घाउ र त्यसपछि न्यायका नाममा भएका राजनीतिक दाउपेचले विधिको शासनमाथि नै गम्भीर प्रश्न उठाइरहेको छ।
राजनीति मात्र नभएर सिरहाको शैक्षिक, स्वास्थ्य , सुरक्षा र सांस्कृतिक आधार खडा गर्न आधार खडा कृष्णचरण श्रेष्ठ र उनको परिवारले आफ्नो सर्वस्व सुम्पेका थिए। ग्रामीण क्षेत्रका बालबालिकाहरू शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उनले आफ्नो बुवाको स्मृतिमा गृहगाउँ बेल्हामा ’विष्णुचरण श्रेष्ठ माध्यमिक विद्यालय’ को स्थापना गराएका थिए।
उनको सामाजिक दानशीलताको हद यतिमा मात्र सीमित थिएन; गाउँलेहरूको उपचारका लागि उनले आफ्नै व्यक्तिगत जग्गा दान गरेर बेल्हामा स्वास्थ्य चौकीको स्थापना गराएका थिए।
विडम्बना, वि.सं. २०६३ असोज ७ गते उनको बीभत्स हत्या भएपछि मात्रै गाउँको शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर गर्दै बेल्हामा प्रहरी चौकी स्थापना गरियो र सो प्रहरी चौकीसमेत उनकै परिवारको जग्गामा खडा छ। आफ्नो जीवनकालमा शिक्षा र स्वास्थ्यका लागि जग्गा दिएका श्रेष्ठको परिवारले उनको अवसानपछि पनि गाउँको सुरक्षाका लागि जग्गा उपलब्ध गराएर अनुकरणीय उदारता देखाएको छ।
बेल्हा गाउँ र यहाँका नागरिकका लागि आफ्नो जीवन, जग्गा, सम्पत्ति र अन्ततः प्राणसमेत आहुति दिने नेताप्रति स्थानीय सरकार र स्वयं बेल्हावासीले देखाएको उदासीनता चरम दुःखद र लज्जास्पद छ। जसले गाउँलाई पहिचान दिए, जसको जग्गामा टेकेर आज गाउँका बच्चाले अक्षर पढ्दै छन्, बिरामीले ओखती पाएका छन् र नागरिकले सुरक्षाको अनुभूति गरिरहेका छन्, तिनै महामानवको सम्मानमा आजसम्म बेल्हामा एउटा शालिक सम्म निर्माण हुन नसक्नु आधुनिक समाज र राजनीतिको ठूलो कृतघ्नता हो। स्थानीय सरकारले भौतिक पूर्वाधारका नाममा बर्सेनि लाखौँ–करोडौँ बजेट खर्च गरिरहँदा, बेल्हाको माटोका सच्चा सपूत कृष्णचरणको योगदानलाई संस्थागत गर्न र भावी पुस्तालाई उनको त्यागबारे सिकाउन एउटा स्मारक वा शालिक बनाउने जमर्को नगर्नुले वर्तमान नेतृत्वको सोच कति दरिद्र छ भन्ने कुरा प्रष्ट पार्छ।
कुनै समय सिरहा र सिंगो मधेशकै राजनीतिलाई आकार दिने चतुर राजनीतिक खेलाडीहरूको मुखमा जतिबेला पनि आउने गाउँ बेल्हा आजभोलि राजनीतिक चर्चाको इतिहासमा मात्र सीमित हुन पुगेको छ। कृष्णचरण श्रेष्ठ जीवित रहुन्जेल बेल्हा जिल्ला र देशकै राजनीतिक शक्ति केन्द्रका रूपमा जीवन्त थियो। तर उहाँको अवसानपछि सिरहामा नयाँ–नयाँ राजनीतिक समीकरण बने, चतुर खेलाडीहरूले सत्ता र शक्तिको चेस बोर्डमा आ–आफ्नो गोटी चाले, तर बेल्हा गाउँलाई भने बिस्तारै राजनीतिको मूलधारबाट किनारा लगाइयो। कृष्णचरणको जस्तो निःस्वार्थ सेवा लगाव, निष्ठा र दूरदर्शिताको अभावमा आज बेल्हाले आफ्नो पुरानो साख, गौरव र राजनीतिक प्रतिष्ठा गुमाउँदै गएकोमा स्थानीय बुढापाकाहरू चिन्ता व्यक्त गर्छन्।
हत्याको संवेदनशीलतालाई हेर्दै तत्कालीन सरकारले तत्कालीन पूर्वाञ्चल क्षेत्रीय प्रशासकको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरी घटनास्थलको स्थलगत निरीक्षण र प्रत्यक्षदर्शीको बयान लिने काम सुरु गरेको थियो। तर, त्यो छानबिन समिति सुरुवाती प्रशासनिक औपचारिकतामै सीमित हुन पुग्यो।
घटनाको १३ औँ दिनको शोक सभामा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दसहित राप्रपाका शीर्ष नेताहरूले आक्रोश पोखेका थिए भने अधिकारवादीहरूले प्रमाण हराउने चिन्ता व्यक्त गरेका थिए। देशमा भएका ठूला राजनीतिक परिवर्तन, शान्ति सम्झौता र पटक–पटक फेरिएका सरकारहरूको दाउपेचका बीच सो छानबिन समितिको प्रतिवेदन र दोषीमाथिको कानुनी कारबाही सधैँका लागि दराजमा थन्काइयो।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रसम्म आइपुग्दा पनि बेल्हाको माटोमा शिक्षा र स्वास्थ्यको ज्योति छर्ने, र हत्यापछि स्थापना भएको सुरक्षा निकायलाई समेत आफ्नै जग्गा सुम्पने जनताका प्रिय नेताको हत्यारामाथि कारबाही नहुनुले देशको दण्डहीनताको चित्र छर्लङ्ग पार्छ। आफ्नो नेताको न्यायका लागि आवाज उठाइरहेका बेल्हावासी, विद्यालय परिवार, स्वास्थ्य तथा सुरक्षा निकायका स्थानीय र राप्रपाका कार्यकर्ताहरू आज पनि राज्यसँग एउटै प्रश्न गरिरहेका छन्– “सिरहाको विकास र बेल्हाको विरासत स्थापित गर्ने कृष्णचरण श्रेष्ठका परिवार र जनताले आखिर कहिले न्याय पाउने, र स्थानीय सरकारले उहाँको त्याग र बलिदानको कदर गर्दै कहिले बेल्हाको चोकमा उहाँको शालिक ठड्याउने?“











