१५ गते कार्तिक,कल्याणपुर (सिरहा) । सिरहाको कल्याणपुर नगरपालिकाको वडा नं. १० मा रहेको चन्द्री देवी आधारभूत विद्यालयका लागि निकासा गरेको २ लाख रुपैयाँ प्रोत्साहन अनुदान रकममध्ये आधा रकम (१ लाख रुपैयाँ) कल्याणपुर नगरपालिकाकी कार्यवाहक मेयर रेखा यादवले कमिसन वापत खाएको गम्भीर तथ्य बाहिर आएको छ ।
विद्यालयका प्रधानाध्यापक जागेश्वर कामती र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीदेव मण्डलले कार्यवाहक मेयर यादवले सो रकम कमिसन बापत बुझेको कुरा स्पष्ट रूपमा खुलास्त पार्नुभएको हो । शैक्षिक गुणस्तर सुदृढीकरण तथा कार्यसम्पादनमा आधारित प्रोत्साहन अनुदान अन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी, भक्तपुरको कार्यविधि बमोजिम उक्त विद्यालयको खातामा २ लाख रुपैयाँ निकासा गरिएको दाबी गरिएको थियो ।
तर, कल्याणपुर नगरपालिकामा रहेका २ दर्जनभन्दा बढी सामुदायिक विद्यालयहरू मध्ये कुन कानुनी प्रक्रिया अवलम्बन गरी सोही वडा नं. १० को चन्द्री देवी आधारभूत विद्यालयलाई मात्र यो प्रोत्साहन रकम दिइएको हो भन्ने कुराको कुनै पनि आधिकारिक कानुनी आधार देखिएको छैन । बिना कुनै ठोस कानुनी मापदण्ड र प्रक्रिया निश्चित विद्यालयलाई मात्र रकम छनोट गरिनुले यसमा ठूलो आर्थिक चलखेल भएको आशंकालाई बल पुर्याएको छ ।
विद्यालय प्रशासन र व्यवस्थापन समिति दुवैले कार्यवाहक मेयरमाथि मोटो रकम कमिसन खाएको आरोप लगाएपछि यस सम्बन्धमा उहाँको प्रतिक्रिया लिन पटक–पटक लगातार सम्पर्क गर्ने प्रयास गरिएको थियो । तर, कार्यवाहक मेयर रेखा यादवले कुनै पनि जवाफ दिनुको सट्टा उक्त कुराबाट भाग्ने र पन्छिने गरेको पाइएको छ ।
नगरपालिकाका सूचना अधिकारी जितेन्द्र कुमार यादवले देशदुतखबरका शुभेन्द्र कुमार साहलाई सूचनाको हक अन्तर्गत उपलब्ध गराएको आधिकारिक विवरणमा अनुदान निकासा भएको देखिए पनि, कुनै कानुनी आधार स्पष्ट नहुनु र जनप्रतिनिधिले नै आधा बजेट कमिसनका रूपमा कुम्ल्याएको विषय बाहिरिएको छ ।










