१७ कात्तिक, सिराहा ।
भूमि प्रशासन कार्यालय सिराहाका प्रमुख सुबोध कुमार ठाकुरले नेपाल सरकारले लागू गरेको निजामती कर्मचारीको आधिकारिक पोसाक नलगाई नियमको ठाडो उल्लंघन गरिरहेको पाइएको छ। सरकारले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूको पहिचान, अनुशासन र मर्यादा कायम राख्न पोसाक अनिवार्य गरे पनि जिम्मेवार पदमा रहेका प्रमुख ठाकुरले त्यसलाई पूर्ण रूपमा बेवास्ता गरेका हुन्।
नेपाल सरकारले प्रत्येक निजामती कर्मचारीलाई वार्षिक रूपमा पोसाक भत्ता समेत उपलब्ध गराउँदै आएको छ। राज्यकोषबाट पोसाकका लागि छुट्टै रकम बुझ्ने तर कार्यालय आउँदा भने नियमको धज्जी उडाउने प्रवृत्ति भूमि प्रशासन कार्यालय सिराहामा देखिएको हो।

देशदूत खबरको स्थलगत रिपोर्टिङका क्रममा कार्यालय प्रमुख ठाकुर लगातार तीन दिनदेखि कार्यालय समयमा सरकारी पोसाकको साटो जिन्स पाइन्ट, भेस्ट र कालो चश्मा मात्र लगाएर कार्यालय आउने–जाने गरेको फेला परेको छ। नियम पालना गराउने र संस्थाको नेतृत्व गर्ने व्यक्ति नै यसरी गैरजिम्मेवार पहिरनमा प्रस्तुत भएपछि त्यसको प्रत्यक्ष असर मातहतका कर्मचारीहरूमा समेत परेको देखिएको छ।
यस सन्दर्भमा देशदूत खबरका प्रतिनिधिले कार्यालय प्रमुख ठाकुरलाई “तपाईंले सरकारी पोसाक किन नलगाउनुभएको?“ भनी प्रश्न गर्दा उनले सुरुमा, “आज म सिधै फिल्डबाट कार्यालय आएकाले पोसाक लगाउन सकिनँ“ भन्दै बहाना बनाएका थिए।

लगत्तै पत्रकारले अर्को प्रश्न गर्दै “हिजो पनि तपाईंको पोसाक थिएन नि?“ भन्दा प्रमुख ठाकुरले उल्टै “प्रमाण देखाउनुस्“ भन्दै चुनौती दिएका थिए। जब देशदूत खबरका प्रतिनिधिले उनलाई लगातार बिना पोसाक कार्यालय आएको अकाट्य भिडियो/तस्बिर प्रमाण देखाए, तब कार्यालय प्रमुख ठाकुर अक्क न बक्क बनेका थिए। प्रमाण देखेपछि बोल्ने शब्द नभएका ठाकुरले आफ्नो गल्ती ढाकछोप गर्दै अन्तमा गैरजिम्मेवार शैलीमा भने, “यो पोसाक केही होइन बुझ्नुस्, यसले केही हुँदैन।
कार्यालय प्रमुख आफैँले पोसाक कोडको धज्जी उडाएपछि सोही कार्यालयका मातहतका कर्मचारीहरूमा पनि त्यसको व्यापक असर देखिएको छ। नाम नखुलाउने सर्तमा सोही कार्यालयका एक कर्मचारीले देशदूत खबरसँग कुरा गर्दै भने, “कार्यालय प्रमुखले नै नलगाएपछि हामीले मात्र लगाएर के हुन्छ र? पोसाक प्रयोग हुनु र नहुनुमा केही फरक छैन।“
कार्यालय प्रमुखको दायित्व र जिम्मेवारीको सन्दर्भमा भूमि प्रशासन कार्यालयमा कार्यरत् लेखापढी व्यवसायीहरूसँग प्रतिक्रिया लिन खोज्दा उनीहरूले प्रमुख ठाकुरमाथि गम्भीर आरोप लगाएका छन्। अधिकांश लेखापढी व्यवसायीहरूका अनुसार कार्यालय प्रमुख ठाकुर सरकारी पोसाकमा त कहिल्यै देखिँदैनन् नै, साथै उनले पदीय दायित्व समेत भुलेर सेवाग्राहीलाई सास्ती दिने गरेका छन्।
व्यवसायीहरूले गुनासो पोख्दै भने, “कार्यालय प्रमुखज्यू ऐन र कानुनको कुरा नै गर्नुहुन्न। आफ्नो मनपरी ढंगले विना कारण काम रोक्ने र दुःख दिने काम मात्र भइरहेको छ।“ नियम सिकाउने र न्यायपूर्ण ढङ्गले काम गर्नुपर्ने प्रमुख आफैँ अनुशासनहीन र स्वेच्छाचारी बनेको व्यवसायीहरूको आरोप छ।
राज्यकोषबाट पोसाक भत्ता बुझेर पनि कानुन र नियमलाई “यसले केही हुँदैन“ भन्दै चुनौती दिने यस्ता गैरजिम्मेवार कार्यालय प्रमुख सुबोध कुमार ठाकुर र नियम पालना नगर्ने मातहतका कर्मचारीहरूमाथि तत्काल विभागीय कारबाही गर्न र सरकारी मर्यादा कायम गराउन सिराहाका स्थानीयवासी, सेवाग्राही तथा व्यवसायीहरूले सम्बन्धित उच्च निकाय एवं जिल्ला प्रशासन कार्यालयसँग जोडदार माग गरेका छन्।









