३१ भाद्र ,सिरहाको कल्याणपुर नगरपालिका भित्र रहेका ६२ वटा सार्वजनिक पोखरीहरूको अवस्था पछिल्लो समय अत्यन्तै जीर्ण र जर्जर बनेको छ। स्थानीय तह र सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक तथा प्राकृतिक महत्त्व बोकेका यी पोखरीहरू अहिले अस्तित्व संकटमा परेका छन्।
पोखरीहरूको यो दुर्दशा प्राकृतिक र सांस्कृतिक रूपमा मात्र नभई आर्थिक रूपमा पनि पालिकाका लागि प्रत्युत्पादक बनेको छ। विगतमा आम्दानीको बलियो स्रोत बन्ने गरेका यी सार्वजनिक पोखरीहरूलाई व्यवस्थित गरेर माछा पालन वा अन्य प्रयोजनका लागि ठेक्का लगाउन सकेको भए पालिकालाई बर्सेनि लाखौँ रुपैयाँ राजस्व आम्दानी हुने थियो। तर पोखरीहरू जर्जर बनेकै कारण यो आम्दानीको मुख्य स्रोतमा समेत ठूलो नोक्सानी भइरहेको छ र नगरपालिकाले मोटो रकम गुमाउनु परेको छ। पछिल्लो वस्तुस्थिति अनुसार कल्याणपुरका ९५ प्रतिशत पोखरीहरूमा जलकुम्भी झार, विभिन्न किसिमका घाँसपात र फोहोरमैला भरिएका छन्। पोखरीहरू फोहोर र झारले यसरी ढाकिएका छन् कि तिनको वास्तविक स्वरूप नै पूर्ण रूपमा बिग्रिएको छ। अझ अचम्मको कुरा त, यहाँका ६२ वटा पोखरीहरू मध्ये केही पोखरीहरू त भू–माफिया र स्थानीयको अतिक्रमणमा परी पूर्ण रूपमा पूरी घर निर्माण गरेको समेत फेला परेको छ।
सार्वजनिक सम्पत्तिको यसरी दोहन हुँदा पनि स्थानीय प्रशासन मुकदर्शक बनेको छ।जिम्मेवार अधिकारी नै बेखबर, अधिकृतको वडाहरूसँग मागयस संवेदनशील विषयमा प्रतिक्रिया लिन खोज्दा कल्याणपुर नगरपालिकाकी कार्यवाहक मेयर रेखा यादवले केही पनि बोल्न मान्नुभएन।
त्यस्तै, कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विश्वरूप दाहालले भने आफ्नै मातहतमा रहेका पोखरीहरूको संख्या, अतिक्रमण र अवस्थाबारे अनभिज्ञता प्रकट गर्नुभएको छ। उहाँले नगरपालिकामा कुल के कति संख्यामा पोखरीहरू छन् भन्ने कुरा आफूलाई यकिन नभएको जानकारी दिनुभयो। यसका साथै, सबै वडाहरूलाई पोखरी जस्तो महत्त्वपूर्ण विषयमा ’के कस्तो अवस्था छ’ र ’पोखरीको संरक्षणका लागि के काम गर्नुपर्ने हो’ भनी आवश्यक जानकारी गराउन र यसबारे विवरण उपलब्ध गराउन आफूले वडाहरूसँग माग गरेको अधिकृत दाहालले बताउनुभयो।
छठ पर्व नजिकिँदैः पोखरी सफाइको अपरिहार्यताकल्याणपुर नगरपालिकाभित्रका करिब अधिकांश गाउँहरूमा महापर्व छठ पोखरीहरूमा नै मनाउने गरिएको छ। तराई–मधेसको सबैभन्दा ठूलो र पवित्र मानिने छठ पर्वमा व्रतालुहरू पोखरीकै पवित्र पानीमा उभिएर सूर्यदेवलाई अर्घ दिनुपर्ने धार्मिक विधि रहिआएको छ। यस्तो अवस्थामा आस्थाको केन्द्र रहेका यी पोखरीहरू जलकुम्भी, घाँसपात, फोहोर र अतिक्रमणले दुर्गन्धित हुँदा व्रतालु तथा दर्शनार्थीहरूलाई ठूलो सास्ती हुने निश्चित छ। त्यसैले छठ पर्व सुरु हुनुपूर्व नै यी सबै पोखरीहरूको पूर्ण रूपमा सरसफाइ हुनु र अतिक्रमण हटाइनु अत्यन्तै जरुरी र आवश्यक देखिएको छ।
युवाहरूको आफ्नै पहल, सरकारसँग नयाँ आशा यसै सन्दर्भमा कल्याणपुर नगरपालिका वडा नं. १० बंगठियामा पर्ने अन्दाजी १ बिघाको पोखरीको उदाहरण भने फरक छ। पोखरीको संरक्षणमा पालिकाले कुनै चासो नदेखाएपछि गएको वर्ष स्थानीय युवाहरूले आफ्नै पहलमा सो पोखरीको सरसफाइ गरेका थिए र त्यहाँ भव्य रूपमा छठ पर्व मनाएका थिए।
गत वर्ष आफैं जुटेका बंगठियाका स्थानीय युवा तथा बासिन्दाहरू यसपालि भने स्थानीय सरकार र वडा कार्यालय आफैंले पहल गरिदिने र पोखरीको सरसफाइ गरिदिनेछ भन्ने ठूलो आशामा बसेका छन्। उनीहरू आफ्नो सांस्कृतिक र प्राकृतिक धरोहर बचाउन यस पटक जनप्रतिनिधिहरू अग्रसर हुने प्रतिक्षारत छन्।
मुख्य समस्याहरूः
पोखरी पूरी घर निर्माणः ६२ मध्ये केही पोखरीहरूको जमिन भू–माफिया र स्थानीयद्वारा पूरी घर बनाइएको फेला परेको छ।
लाखौँको राजस्व नोक्सानीः विगतमा आम्दानीको बलियो स्रोत बन्ने गरेका सार्वजनिक पोखरीहरू वेवास्ताका कारण अलपत्र पर्दा पालिकाले ठूलो आर्थिक क्षति बेहोर्नु परेको छ।
९५% पोखरीमा प्रदुषणः अत्यधिक जलकुम्भी, घाँसपात र वरपरको फोहोरले गर्दा पोखरीको पानी गन्हाउने र दूषित भएको छ।
भूमिगत जलस्तरमा संकटः ९५ प्रतिशत पोखरीको स्वरूप बिग्रिएर पानी सुक्न थालेपछि हिउँदमा यस क्षेत्रको भूमिगत जलस्तर निकै तल गएको छ, जसका कारण स्थानीय चापाकलहरू प्यास मेट्न नसक्ने गरी सुक्न थालेका छन्।
प्राकृतिक सम्पदाको यो दुर्दशा, राजस्वको आर्थिक क्षति र स्थानीय सरकारको यस्तो गैरजिम्मेवारपनप्रति स्थानीय बासिन्दाले गहिरो आक्रोश र चिन्ता व्यक्त गरेका छन्। उनीहरूले नगरपालिकाले तत्काल आफ्नो क्षेत्रका पोखरीहरूको यकिन तथ्याङ्क संकलन गरी सौन्दर्यीकरण, सफाइ र संरक्षणको काम अगाडि बढाउन माग गरेका छन्।










