काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू हिन्दु भएको बताएको विषयलाई लिएर प्रश्न उठाएका छन् ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै शाहीले देउवालाई जनतासमक्ष हिन्दु राष्ट्र हटाइनुको कारण र त्यसको जिम्मेवारीबारे जवाफ दिन आग्रह गरेका छन् ।
देउवाले आज कांग्रेस इतपक्षको सम्मेलनमा आफुलाई हिन्दु बताएका थिए ।
देउवाले आफूलाई हिन्दु बताएपछि सांसद शाहीले हिन्दु राष्ट्र किन हटाइयो ? भन्दै प्रश्न गरेका छन् । उनले हिन्दु राष्ट्र हटाउनुको जिम्मेवारी तपाईंहरूले लिने कि नलिने ? भन्दै प्रश्न गरेका हुन् ।
‘यदि तपाईं हिन्दु हुनुहुन्छ भने मेरो प्रश्न– जनतालाई जवाफ दिनुहोस्, हिन्दु राष्ट्र किन हटाइयो? कसको निर्णयमा हटाइयो ? र त्यसको जिम्मेवारी तपाईंहरूले लिने कि नलिने ?’ उनले लेखेका छन् ।
शाहीले नेपाल हजारौँ वर्ष पुरानो हिन्दु सभ्यताको देश भएको दाबी गर्दै हिन्दु राष्ट्रको पहिचान हटाउने निर्णयप्रति समेत आपत्ति जनाएका छन् ।
उनले विदेशी प्रभावको आरोप लगाउँदै प्रश्न गरेका छन्, ‘विदेशीको हरियो नोटको प्रभावमा परेर नेपालजस्तो हजारौँ वर्ष पुरानो हिन्दु सभ्यताको देशको हिन्दु राष्ट्रको पहिचान मास्ने काम तपाईँबाट भएको हो कि होइन ?’









