१४ भदौ सिराहा । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीन नगर समितिहरूले पार्टीभित्र अहङ्कार, स्वेच्छाचारिता, अपारदर्शिता र अलोकतान्त्रिक संस्कार हाबी हुँदै गएको भन्दै गम्भीर दुःख व्यक्त गरेका छन्।
कल्याणपुर नगर समिति, कर्जन्हा नगर समिति र मिर्चैया नगर समितिले हालै एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको वर्तमान नेतृत्व र कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका हुन्।विज्ञप्तिमा जसपा नेपालका सिरहा जिल्ला अध्यक्षद्वारा पार्टीभित्र चरम मनपरी भइरहेको आरोप लगाइएको छ।
जिल्ला नेतृत्वको यस्तै स्वेच्छाचारी प्रवृत्तिका कारण आम नेता तथा कार्यकर्ताहरूमा चरम गुनासो र निराशा व्याप्त रहेको कल्याणपुर नगर समितिका अध्यक्ष किशोरी यादव, कर्जन्हा नगर समितिका अध्यक्ष केशव प्रसाद साह र मिर्चैया नगर समितिका अध्यक्ष धीरेन्द्र कुमार साहद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।
व्यक्ति विशेषभन्दा माथि उठ्न नेतृत्वलाई ध्यानाकर्षण नगर समितिहरूले कुनै व्यक्ति विशेषको स्वार्थभन्दा माथि उठेर लोकतन्त्र, समता, न्याय, पारदर्शिता, निष्ठा र योगदानलाई आत्मसाथ गर्न पार्टी नेतृत्वको गम्भीर ध्यानाकर्षण गराएका छन्। पार्टी, विचार, सङ्गठन र आम जनताको बृहत्तर हितलाई केन्द्रमा राखेर मात्र नेतृत्वले आगामी दिनमा हरेक निर्णयहरू गर्नुपर्ने विज्ञप्तिमा जोड दिइएको छ।
समिति मनोनयन प्रक्रिया त्रुटिपूर्ण र अलोकतान्त्रिक यसैगरी पार्टीको हालै सम्पन्न केन्द्रीय कार्यसमितिको मनोनयन प्रक्रिया पूर्ण रूपमा त्रुटिपूर्ण र अलोकतान्त्रिक भएको दाबी गरिएको छ।
सङ्घर्षको जगबाट आएका योग्य नेताहरूलाई पाखा लगाई विधान र प्रक्रिया मिचेर मनोनयन गरिएको भन्दै नगर अध्यक्षहरूले यस निर्णयप्रति कडा आपत्ति जनाएका छन्।
निर्वाचनमा पराजय र कार्यकर्ता पलायनको संकटनिर्वाचनमा पार्टीले व्यहोर्नुपरेको पराजयको परिणाम स्वरूप इमानदार नेता तथा कार्यकर्ताहरू निराश बनेको र पार्टीबाट पलायन हुनुपर्ने बाध्यात्मक समस्या सिर्जना भएको तर्फ नेतृत्वको ध्यानाकर्षण गराइएको छ।
दुई दशकदेखि पार्टीप्रति निरन्तर लगनशील, सङ्घर्षशील र इमानदार रहेका कार्यकर्ताहरू प्रति नेतृत्वले द्वेषपूर्ण शैली अपनाएको उनीहरूको आरोप छ।सङ्घर्षशील नेताहरूको पदोन्नतिका लागि मागविज्ञप्ति मार्फत पुराना, सङ्घर्षशील र स्थापित नेताद्वय रामकुमार मण्डल र रामदयाल यादवलाई पार्टीको गरिमामय जिम्मेवारी दिने गरी तत्काल पदोन्नति (बढुवा) गर्न जोडदार माग गरिएको छ। दुई दशक लामो सङ्घर्षको सम्मान र पार्टीलाई पुनर्जीवन दिनका लागि यी नेताहरूको भूमिका अपरिहार्य रहेको र त्रुटिपूर्ण प्रक्रिया तत्काल नसच्चिए गम्भीर परिस्थिति आउन सक्ने चेतावनी समेत दिइएको छ।








