१६ भदौ सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सिरहा जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनको बन्द सत्रले प्रजातान्त्रिक प्रक्रियाबाट अध्यक्षमा शम्भु प्रसाद यादव र २७ जना कार्यसमिति सदस्यहरूलाई सर्वसम्मत निर्वाचित गरेको छ। नयाँ कार्यसमितिको घोषणासँगै आयोजित विशेष कार्यक्रमको अध्यक्षता नवनिर्वाचित जिल्ला अध्यक्ष शम्भु प्रसाद यादवले गर्नुभएको थियो।
अधिवेशनमा मन्तव्य राख्दै प्रमुख अतिथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा हालै आएको विनाशकारी बाढी र प्राकृतिक विपत्तिका कारण ज्यान गुमाउने नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो। शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै उहाँले भन्नुभयो, “देश अहिले चौतर्फी संकटमा छ। एकातिर प्राकृतिक विपत्तिले जनता छटपटिएका छन् भने अर्कोतिर राजनीतिक अस्थिरता छ। यस्तो संकटको बेला सबै शक्ति र नागरिकहरूले एकअर्कालाई साथ र सहयोग गर्नु आजको मुख्य आवश्यकता हो।”
अधिवेशनमा मन्तव्य राख्दै राप्रपाका मधेस प्रदेश अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य (सांसद) माननीय भरत गिरीले मधेसका किसानहरूको पीडाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँले भन्नुभयो, “किसानले समयमा मल पाउँदैनन्, त्यसमाथि कृषि सामग्रीमा कर थोपरिएको छ। हामीले मल, खाद लगायतका कृषि सामग्रीमा कर नलगाउन गृह मन्त्रीलाई कडा रूपमा खबरदारी गरिसकेका छौँ। किसानलाई मारमा पार्ने काम सरकारबाट हुनुहुँदैन।”
त्यस्तै, अधिवेशनमा मन्तव्य राख्दै राप्रपाका सह-महामन्त्री मोहन यादवले हिन्दीमा एक चर्चित शायरी प्रस्तुत गर्दै भन्नुभयो, “कन्धों से बड़ा छाती नहीं होता और धर्म से बड़ा कोई जाति नहीं होता।” उहाँले केही कुकर्मीहरूको गलत नियत र स्वार्थका कारण यो देशलाई धर्मनिरपेक्ष बनाइएको आरोप लगाउँदै राप्रपाको नेतृत्वमा देशलाई पुनः हिन्दूराष्ट्र बनाएरै छाड्ने दृढता व्यक्त गर्नुभयो।
कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य वीरेन्द्र लाभ कर्ण, धनुषा जिल्ला अध्यक्ष रामचन्द्र यादव तथा उदयपुर जिल्ला अध्यक्ष ध्रुव बहादुर माझी लगायतका वक्ताहरूले मधेस प्रदेश र आसपासका जिल्लाहरूमा राप्रपाको संगठनलाई बलियो बनाउँदै पार्टीलाई शक्तिशाली बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
अधिवेशनमा मन्तव्य राख्दै प्रमुख अतिथि राजेन्द्र लिङ्देन भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत हुनुभयो। उहाँले अन्य नेताहरूलाई खुल्ला चुनौती दिँदै भन्नुभयो, “मैले आफ्नो राजनीतिक जीवनमा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन। म आफ्नो इमान र निष्ठा प्रमाणित गर्न जुनसुकै मन्दिरमा छिरेर कसम खान तयार छु। के देश लुटेर हिँड्ने अरू दलका नेताहरूले यसरी मन्दिरमा छिरेर कसम खाने हिम्मत राख्छन्? राजनीतिमा जो जस्तो भए पनि ‘राजेन्द्र लिङ्देन चोर हो’ भनेर कसैले औंला उठाउन सक्दैन। मबाट कहिल्यै पनि यो देश र जनताको शिर झुक्ने काम हुने छैन। हामी इमान बेचेर राजनीति गर्दैनौँ र विदेशी वाद बोक्दैनौँ। हाम्रो सिद्धान्त यही नेपालको माटोको सिद्धान्त हो।”
प्रमुख अतिथि लिङ्देनले गत निर्वाचनको समीक्षा गर्दै मन्तव्यका क्रममा भन्नुभयो, “गत चुनाव एकदमै विचित्रको चुनाव थियो, जुन सामान्य राजनीतिक कल्पनाभन्दा धेरै बाहिरको कुरा हो। पुराना नेताहरूकै कारण जनताले अहिले नेताहरूलाई सम्मानका साथ हेर्न छाडिसकेका छन्। त्यसैले अब यो देशलाई बचाउने हो भने सबैभन्दा पहिले नेताहरू आफैँ सुध्रिनुपर्छ।” उहाँले देशको वर्तमान संकटपूर्ण अवस्थाको निकासका लागि राजा र राजनीतिक दलहरूबीचको राष्ट्रिय सहमति मात्र एकमात्र विकल्प भएको कुरा दोहोर्याउनुभयो।
मधेस केन्द्रित दल र नेताहरूमाथि प्रहार गर्दै प्रमुख अतिथि लिङ्देनले भन्नुभयो, “मधेस केन्द्रित दलहरूले मधेसी जनताको भावनामाथि ठूलो घात गरेका छन्। मधेसी अनुहार देशको सर्वोच्च पद राष्ट्रपति, उपराष्ट्रपतिदेखि लिएर गृह मन्त्री जस्ता सबै शक्तिशाली मन्त्रालयमा पुगे, मन्त्री भए र प्रधानमन्त्रीसमेत बने। तर मधेसले के पायो? पायो भने केवल दुःख र उपेक्षा मात्र पायो। एक बोरा युरिया मल (खाद) का लागि मधेसमा किसानले किन सधैँ तनाव झेल्नुपर्छ? मधेसी नेताहरूले किन यहाँका जनता र किसानलाई सुखको अनुभूति दिलाउन सकेनन्?”
अब मधेसको मात्र होइन, समग्र देशको जिम्मा राप्रपाको भएको दाबी गर्दै उहाँले भन्नुभयो, “अन्य दलहरूलाई पटक-पटक हेरिसकियो, अब देश र मधेस दुवैको विकासका लागि राप्रपालाई ५ वर्ष दिनु नै पर्याप्त छ।”
नवनिर्वाचित अध्यक्ष शम्भु प्रसाद यादवले आफ्नो नेतृत्वको २७ सदस्यीय कार्यसमितिले सिरहा जिल्लामा राप्रपाको संगठनलाई गाउँ र टोलस्तरसम्म मजबुत बनाउने र राप्रपाको वैचारिक एजेन्डालाई दृढताका साथ जनतामाझ लैजाने प्रतिबद्धता जनाउँदै अधिवेशनको समापन गर्नुभएको थियो।




















