१९ गते असोज, कल्याणपुर, सिरहा ।
कल्याणपुर नगरपालिकाको शिक्षा क्षेत्रमा देखिएको चरम बेथिति र राजनीतिक खिचातानीका बीच कार्यवाहक नगर प्रमुख (मेयर) रेखा यादव समेत गम्भीर विवादमा तानिनुभएको छ। वडा अध्यक्ष विनोद कुमार यादव र शिक्षा अधिकृत जय प्रसाद दासबीच आरोप–प्रत्यारोप चलिरहेका बेला पालिकाको नेतृत्व गरिरहनुभएकी कार्यवाहक मेयर यादवले गैरजिम्मेवार व्यवहार देखाएको आरोप लागेको छ।
आज बिहान १०:०० बजे सम्म कार्यवाहक मेयर रेखा यादव नगरपालिकाको कार्यालयमा उपस्थित हुनुभएको थिएन। कार्यालयमा अनुपस्थित रहेपछि शिक्षा शाखाको अस्तव्यस्त भौतिक अवस्था र प्रावि शिक्षकले मावि चलाइरहेको गम्भीर शैक्षिक बेथितिका विषयमा बुझ्नका लागि फोनमार्फत कुरा गर्न खोज्दा उहाँले कुरा गर्न समेत मान्नुभएन।
सञ्चारकर्मी तथा सरोकारवालाहरूले पालिकाको वस्तुस्थितिबारे ध्यानाकर्षण गराउन फोन गर्दा सुरुमा फोन उठाए पनि त्यसलगत्तै उहाँले आफ्नो मोबाइल फोन स्विच अफ गर्नुभएको छ। पालिकाको जिम्मेवार नेतृत्व यसरी कार्यालयमा पनि नआउने र फोन समेत स्विच अफ गरेर पन्छिएपछि कल्याणपुरको प्रशासनिक र शैक्षिक अन्योल झन् बढेको छ।
यसअघि कार्यसमिति सदस्य समेत रहनुभएका वडा अध्यक्ष विनोद कुमार यादवले नगरपालिकाले शिक्षा शाखाका लागि छुट्टै कार्यालय समेत व्यवस्थापन गर्न नसक्दा शाखा भौतिक रूपमै एउटा दराजमा सीमित भएको खुलासा गर्नुभएको थियो, जुन कुरा भौतिक रूपमै छर्लङ्ग देखिन्छ।
साथै, माध्यमिक विद्यालय (मावि) को प्रधानाध्यापक (प्र.अ.) को जिम्मेवारी प्राथमिक विद्यालय (प्रावि) तहका शिक्षकहरूले सम्हालिरहेको र यसबारे पटक–पटक ध्यानाकर्षण गराउँदा पनि शिक्षा शाखा प्रमुखले वास्ता नगरेको यादवको भनाइ छ। “मावि तहको विद्यालय प्रावि शिक्षकको भरमा चल्नु कानुनी र व्यावहारिक रूपमा गलत हो, तर पटक-पटक भन्दा पनि शिक्षा शाखा प्रमुखले सुनेनन्,” वडा अध्यक्ष यादवले भन्नुभयो।
यता, शिक्षा अधिकृत जय प्रसाद दासले भने आफूमाथि लागेका आरोपहरू पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ। कार्यसमिति सदस्य समेत रहेका वडा अध्यक्ष विनोद कुमार यादवले शिक्षक दरबन्दी मिलानमा नाङ्गो राजनीति गर्न खोजेको बुमरेङ आरोप उहाँले लगाउनुभएको छ। दासका अनुसार वडा अध्यक्ष यादव र केही पदाधिकारीहरू मिलेर नगरपालिकाका निलम्बित मेयर रामपुकार साहको राजनीतिक स्वार्थ पूर्ति गर्न खोजिरहेका छन् र आफ्नो कानुनी अडानका कारण उनीहरू पछि हटेपछि रिस पोखिएको हो।
कल्याणपुर नगरपालिकाको शैक्षिक अवस्थामा सुधार ल्याउनका लागि वडा अध्यक्ष यादवले तत्काल निम्न ७ बुँदे कार्यहरू गर्न अति आवश्यक रहेको औंल्याउनुभएको छ:
१. शिक्षक दरबन्दी मिलान: विद्यालयहरूमा आवश्यकता अनुसार शिक्षकहरूको उचित व्यवस्थापन गरिनुपर्ने।
२. IEMIS चुस्त र दुरुस्त: विद्यालय शिक्षा एकीकृत सूचना व्यवस्थापन प्रणाली (IEMIS) लाई प्रभावकारी बनाउनुपर्ने।
३. E-हाजिरी: शिक्षक र कर्मचारीहरूको नियमितताका लागि विद्युतीय हाजिरी प्रणाली लागू गर्नुपर्ने।
४. योग्यता र अनुभवको आधारमा प्र.अ. चयन: विद्यालयका प्रधानाध्यापक (प्र.अ.) हरूको नियुक्ति राजनीतिक दबाबमा नभई योग्यता र अनुभवका आधारमा गरिनुपर्ने।
५. शिक्षित वि.व्य.स. गठन: विद्यालय व्यवस्थापन समिति (वि.व्य.स.) मा शिक्षित व्यक्तिहरूलाई मात्र सहभागी गराउनुपर्ने।
६. नियमित अनुगमन: विद्यालयहरूमा पठनपाठन र प्रशासनिक अवस्थाको नियमित रूपमा अनुगमन हुनुपर्ने।
७. पोषिलो दिवा खाजा: विद्यार्थीहरूलाई वितरण गरिने दिवा खाजा पोषिलो र गुणस्तरीय हुनुपर्ने।
वडा अध्यक्ष यादवले यी बुँदाहरूमा तत्काल सुधार नगरिए कल्याणपुरको शिक्षा क्षेत्रको विकासको कुरा गर्नु “बालुवामा घर बनाउनु” जस्तै निरर्थक हुने चेतावनी समेत दिनुभएको छ।











