लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले राजनीति सहज बाटोबाट अघि बढ्न नसकिने बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित अग्रगामी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै ठाकुरले सत्ता र नेतृत्वमा पुग्नका लागि राजनीतिमा अनेक गतिविधि हुने गरेको उल्लेख गरे। कसैले पनि सजिलो बाटोबाट राजनीतिक उलब्धि हासिल गर्न नसक्ने उनको भनाइ थियो।
‘राजनीतिमा जो कोही पनि सधैँ सहज र सरल बाटोबाट अगाडि बढ्न सक्दैन,’ ठाकुरले भने।
उनले राजनीतिलाई ‘डर्टी गेम’को संज्ञा दिए। सत्ता प्राप्तिका लागि अष्टावक्रझैँ टेढामेढा बाटो पार गर्नुपर्ने उनले बताए।
‘राजनीति आफैँमा एउटा डर्टी गेम हो। यसमा अष्टावक्रझैँ टेढामेढा बाटोहरू पार गर्दै अनेकौँ चुनौती र कठिनाइको सामना गर्दै सत्ता र नेतृत्वसम्म पुग्नुपर्ने अवस्था आउँछ,’ उनले भने।
उनले राजनीतिमा टिकिरहन र अगाडि बढ्न सहज बाटो मात्रै पर्याप्त नहुने धारणा राखे।








