इरानका राष्ट्रपति मसुद पेजेस्कियान आगामी ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन नयाँ दिल्ली आउने इरानी स्रोतहरूले शुक्रबार बताएका छन्।
राष्ट्रपति पेजेस्कियान आगामी सेप्टेम्बर भारतको राजधानीमा हुने शिखर सम्मेलनमा सहभागी हुने कार्यक्रम तय भएको स्रोतले बताएको हो।
भारतले आफ्नो अध्यक्षतामा १८औँ ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दै छ। सम्मेलन भारतको ‘लचिलोपन, नवीनता, सहकार्य र दिगोपनका लागि निर्माण’ विषयमा केन्द्रित हुनेछ।
भारतले सन् २०२६ को सुरुवातमा ब्राजिलबाट ब्रिक्सको अध्यक्षता सम्हालेको थियो। सन् २०२४ अक्टोबरमा पेजेस्कियानले रुसको काजानमा भएको ब्रिक्स शिखर सम्मेलनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका थिए।
भेटमा दुई नेताले द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल गरेका थिए।
इरान सन् २०२४ मा इजिप्ट, इथियोपिया र संयुक्त अरब इमिरेट्ससँगै ब्रिक्सको पूर्ण सदस्य बनेको थियो।
इन्डोनेसिया सन् २०२५ मा समूहमा सामेल भएपछि पूर्ण सदस्यहरूको संख्या ११ पुगेको छ।
यसअघि जुन महिनामा इरानका विदेशमन्त्री अब्बास अराघची ब्रिक्स विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन भारत आएका थिए।
बैठकपछि राजधानीमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अराघचीले नयाँ दिल्लीको बढ्दो प्रभावलाई विश्वव्यापी शान्तिदूतका रूपमा महत्त्व दिएका थिए।
पश्चिम एसियाको अस्थिर अवस्थामा तनाव कम गर्न भारतले ‘ठुलो भूमिका’ खेल्न सक्ने धारणा उनले राखेका थिए।
अराघचीले भनेका थिए, ‘तेहरानले सशस्त्र द्वन्द्वमा कुनै भविष्य देख्दैन। वर्तमान संकटको कुनै सैन्य समाधान छैन र वार्तामार्फत समाधान मात्र व्यावहारिक मार्ग हो।
तेहरान भारतीय मध्यस्थताप्रति खुला रहेको कुरा जोड्दै उनले अगाडि भनेका थिए, ‘हामी भारतको कुनै पनि रचनात्मक भूमिकालाई स्वागत गर्नेछौँ।’
अराघचीले विदेशमन्त्री एस जयशंकरसँग पनि वार्ता गरेका थिए, जहाँ उनले मित्र राष्ट्रहरूले इरानमा व्यावसायिक सुरक्षाका लागि भर पर्न सक्ने कुरा पुष्टि गरेका गरेका थिए।
अराघचीले भनेका थिए, ‘इरानले सधैँ हर्मुजमा सुरक्षाको रक्षकका रूपमा आफ्नो ऐतिहासिक कर्तव्य निर्वाह गर्नेछ।(रासस/एएनआई)









