५ भदौ,सिरहा।सिरहास्थित भूमि प्रशासन कार्यालयको परिसरमा अहिले जताततै थुप्रिएको फोहर, उम्रिएको झाडी र प्रयोगविहीन शौचालयका कारण बेहाल बनेको छ। दैनिक सयौँको सङ्ख्यामा आउने सेवाग्राहीका लागि बनाइएको कार्यालयको आँगनमा रहेको शौचालय उचित मर्मत र सरसफाइको अभावमा बन्द छ। शौचालय प्रयोग गर्न नमिल्ने भएपछि सेवाग्राहीहरू बाध्य भएर कार्यालय परिसरभित्रै खुल्ला ठाउँमा पिसाब गर्न विवश छन्, जसले गर्दा दुर्गन्ध अत्यधिक बढेको छ।सरकारी कार्यालय जस्तो संवेदनशील ठाउँमा सरसफाइ र न्यूनतम सुविधा समेत नजुटाइनुले कार्यालय प्रशासन र व्यवस्थापनको चरम कमजोरी तथा लापरवाहीलाई प्रस्ट उजागर गरेको छ। जताततै पलाएका झारपात र झाडी यति धेरै बढेका छन् कि कार्यालयको दोस्रो तल्लासम्मै पुगेको प्रस्ट देख्न सकिन्छ। झाडीले कार्यालय भवनलाई नै ढाक्न लाग्दा गर्मीको मौसममा सर्पको उच्च जोखिम बढेको छ, जसका कारण सेवाग्राहीहरू त्रसित अवस्थामा डरै–डरमा काम गराउन बाध्य छन्।“यहाँ एकछिन पनि बस्न मन लाग्दैन, दुर्गन्धले बान्ता होला जस्तो हुन्छ“कार्यालयमा काम गराउन आएका एक सेवाग्राहीले आक्रोश र पीडा पोख्दै भने— “गर्मीको समयमा सिरहामा सर्पको निकै बिगबिगी हुन्छ। तर यो कार्यालयको कमजोर व्यवस्थापनले गर्दा झारपात, फोहर र आँगनमा जथाभाबी थुप्रिएका इँटाहरू महिनौंसम्म नहटाउँदा सर्प, बिच्छी र अन्य विषालु कीरा–फट्याङ्ग्राहरू लुक्ने उत्तम ठाउँ (सेल्टर) बनेको छ। झाडी बढेर कार्यालयको दोस्रो तल्लासम्मै पुगिसक्यो। यहाँको फोहरको कडा गन्ध र दुर्गन्धले गर्दा एकछिन बस्दा पनि बान्ता होला जस्तो हुन्छ, स्वास्थ्य नै बिग्रिएला जस्तो भइसक्यो। तर के गर्नु, आफ्नो काम गराउनु पर्ने बाध्यता छ, त्यसैले यो कुरुप वातावरणमा डरै–डरमा बस्नु परेको छ।“कार्यालयको मुख्य समस्या र व्यवस्थापकीय लापरवाहीहरूः-दायित्वबाट पन्छिने खेलः नियमित रूपमा एक–दुई दिनमै सजिलै गर्न सकिने सरसफाइको कामलाई चाडपर्वको बहाना बनाएर पन्छाउन खोजिएको देखिन्छ। इँटा र झाडीमा सर्पको जोखिमः- तस्बिरमा देखिए झैँ कार्यालय परिसरमा जथाभाबी थुप्रिएका इँटा र अग्ला झारपातका कारण सर्प, बिच्छी तथा विषालु कीराहरू लुक्ने प्रवल सम्भावना छ, जसले सेवाग्राहीको ज्यानकै जोखिम बढाएको छ।व्यवस्थापनमा चरम लापरवाहीः- सामान्य रेखदेख समेत नगर्दा र फोहरको उचित व्यवस्थापन नहुँदा सरकारी कार्यालय नै कुरुप बनेको छ। दोस्रो तल्लासम्मै झाडीः- झारपात बढेर कार्यालयको मुख्य भवनको दोस्रो तल्लासम्मै पुगेकाले भवन जोखिमपूर्ण र कुरुप बनेको छ। स्वास्थ्यमा गम्भीर असरः- फोहरको थुप्रो र खुल्ला पिसाबको कडा गन्धका कारण सेवाग्राहीको स्वास्थ्यमा प्रत्यक्ष मर्का परेको छ। शौचालय प्रयोगविहीनः- आँगनमा रहेको पुरुष/महिला शौचालयको ढोका बन्द रहने र सरसफाइ नहुँदा सेवाग्राही खुल्लामा पिसाब फेर्न बाध्य छन्। दशैँ र छठअघि नै सफा गर्छौँः- कार्यालय प्रमुख सुबोध कुमार ठाकुर यस विषयमा कार्यालय प्रमुख सुबोध कुमार ठाकुरले व्यवस्थापनमा देखिएका कमीकमजोरी सुधार्दै चाडपर्व अगावै सबै समस्या समाधान गर्ने दाबी गरेका छन्। उनले भने, “हामी सेवाग्राहीको समस्या, स्वास्थ्य जोखिम र सुरक्षाप्रति पूर्ण रूपमा सचेत छौँ। बडादशैँ र छठ पर्व नजिकिँदै गरेकाले सेवाग्राहीको चाप अझ बढ्ने सम्भावना छ। त्यसैले पर्व सुरु हुनुभन्दा अगावै प्रयोगविहीन शौचालय मर्मत गरिनेछ, थुप्रिएका इँटा–फोहर हटाइनेछ र दोस्रो तल्लासम्मै पुगेको झाडी फाँडेर पूरा परिसर सफा, सुन्दर, गन्धमुक्त तथा सुरक्षित बनाइनेछ।“सरकारी कार्यालयकै यस्तो हविगत हुँदा र सेवाग्राहीको स्वास्थ्यमाथि खेलबाड हुँदा स्थानीय स्तरमा यसको कडा आलोचना भइरहेको छ। चाडपर्वको मुखमा कार्यालय प्रमुख ठाकुरले गरेको यो प्रतिबद्धता समयमै पूरा होला कि आश्वासनमै सीमित होला? त्यो भने हेर्न बाँकी नै छ।












