काठमाडौँ — बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी बालिकाको परिवारसँग गृहमन्त्री सुधन गुरुङले वार्ता थालेका छन् ।
विभिन्न सामाचार स्रोतका अनुसार शनिबारै सिमराबाट काठमाडौं आइपुगेका बुबाआमासँग अहिले मन्त्रालयमा कुराकानी भइरहेको छ। । सुरुवातमा गृहमन्त्री गुरुङले बुबाआमा र बारामा प्रदर्शन गरिरहेका टोलीका प्रतिनिधिहरुको कुरा सुनेका थिए ।
त्यसक्रममा गृहमन्त्री गुरुङसँगै कृषिमन्त्री गीता चौधरी र महिला बालबालिकामन्त्री सीता वादीसमेत उपस्थित थिए । मधेशबाट प्रतिनिधित्व गर्ने केही सांसद्समेत छलफलमा उपस्थित छन् । पीडित पक्षले बलात्कारमा संलग्नलाई फाँसी हुनुपर्ने माग राखेका छन् । त्यसपछि गृहमन्त्री गुरुङले कानुनमन्त्री सोविता गौतमलाई समेत गृह मन्त्रालयमा बोलाएका छन् ।
यसअघि गृहमन्त्री गुरुङले नागरिकस्तरबाट मृत्युदण्डको माग उठिरहे पनि कानुनी जटिलता रहेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । उनले संविधानले मृत्युदण्ड दिने गरी कानुन बनाउन निषेध गरेको र नेपालले मृत्युदण्ड उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धतामा हस्ताक्षर गरेकाले तत्काल मृत्युदण्ड दिनसक्ने अवस्था नरहेको बताएका थिए ।
अहिले बालिकाको न्यायको माग गर्दै देशभरि प्रदर्शन भइरहेको छ । गृहमन्त्री गुरुङले अनुसन्धानका क्रममा थप चार जनालाई पक्राउ गरिएको शनिबार जानकारी दिएका थिए ।









