२५ भाद्र, सिरहा । जग्गा कीर्ते, ठगी तथा आपराधिक विश्वासघात मुद्दामा पक्राउ परेकी सिरहाका चर्चित अधिवक्ता राजदेव यादवकी पत्नी घुरनी देवी यादव अदालतको आदेशपछि धरौटीमा रिहा भएकी छिन्। सिरहा जिल्ला अदालतका माननीय जिल्ला न्यायाधीश ऋतबहादुर पुलामी मगरको इजलासले उनलाई रु. ७०,००० (सत्तरी हजार रुपैयाँ) नगद धरौटी वा सो बराबरको जेथा जमानत लिई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
अदालतमा घुरनी देवीको बयानअभियोगपत्रमा उल्लेख भए अनुसार प्रतिवादी घुरनी देवी यादवले अदालत तथा अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा आफू कसूरमा इन्कारी रहँदै जग्गा लेनदेन र जाहेरी प्रक्रियाको वास्तविकता खुलाएकी छिन्। उनले बयानमा भनेकी छिन्— “जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ६ बस्ने विल्टु साहुको छोरा (दुखी साह) लाई आजभन्दा करिब ८ वर्ष अगाडि मैले रु. ६ लाख ऋण दिएकी थिएँ। सो ऋणबापत निज दुखी साहको नाममा रहेको लहान बजार गा.वि.स. वडा नं. ६ (ख) को कित्ता नम्बर ४८२ को ०–१–१ जग्गा मेरो नाममा पास गरी रकम लिएका थिए। पछि मलाई पैसाको आवश्यकता परेपछि निज दुखी साहलाई पैसा फिर्ता गर्न ताकेता गरेँ। त्यसपछि दुखी साहको आग्रहमा भगवती प्रसाद चौधरीसँग रु. १८ लाखमात्र लिई बिक्री गरी जग्गा पास गरिएको थियो। सो जग्गा पास गर्दा थैलीमा रु. ८ लाख ६० हजार मात्र उल्लेख गरिएको थियो।“उनले बयानमा थप खुलाउँदै भनेकी छिन्— “दुखी साह आफैँले जाहेरवालालाई कीर्ते नक्सा देखाई विश्वासमा पारेर मलाई जग्गा पास गरिदिन बोलाएका हुन् र मैले जग्गा पास गरिदिएकी हुँ। तर, जाहेरवाला भगवती प्रसाद चौधरीले उक्त नक्कली नक्सा, कीर्ते दस्तखत र सरकारी छापमा विश्वास नगरी आफैँ नापी कार्यालय लहानमा गएर बुझबुझारथ गरेछन् र त्यहाँ खोजतलास गरी सक्कल नक्सा प्राप्त गरेछन्। उक्त सक्कल नक्सा अनुसार खरिद गरेको जग्गा खुट्टी खोलामा खसेको वास्तविक तथ्य थाहा पाएपछि मात्र जाहेरवालाले हामी विरुद्ध जाहेरी दिएका हुन्।“ उनले सो जग्गा र नक्साको बारेमा आफूलाई केही थाहा नभएको र आफूले कुनै ठगी वा कीर्ते नगरेको बयान दिएकी छिन्।
जिल्ला प्रशासनको सहमति र अभियोग दाबीयसअघि जिल्ला प्रशासन कार्यालय, सिरहाको च.न. ६६७ र मिति २०८३/०४/२६ को सहमति पत्र अनुसार प्रतिवादी घुरनी देवी यादवले जाहेरवाला भगवती प्रसाद चौधरीबाट लिएको रकम फिर्ता गर्ने सम्बन्धमा लिखित प्रतिबद्धता जनाएकी थिइन्। उक्त सहमति अनुसार कुल रु. २६ लाख रकम मध्ये ७/७ लाखका दरले २०८० सालको भदौ, असोज, कात्तिक महिनामा र बाँकी रु. ५ लाख मंसिर मसान्तसम्ममा बुझाई जाहेरवालाले लिएको कपाली तमसुक तथा जग्गा फिर्ता गर्ने आपसी सहमति भएको थियो।तर, तोकिएको मिति र समयमा उक्त रकम फिर्ता नगरी प्रतिवादीहरूले एकापसमा मिलोमतो गरेको अभियोगमा उल्लेख छ।
उनीहरूले बजार एरियाको जग्गा भनी झुक्याएर, सडकको मुखमा रहेको अर्कैको जग्गा समेत जाहेरवालालाई देखाई वास्तवमा खोला किनारमा रहेको जग्गाको नक्कली नक्सा तयार पारेको दाबी अभियोगपत्रमा गरिएको छ। यस घटनामा नापी कार्यालय लहान, सिरहाको च.नं. १५१ मिति २०८३/०५/१८ को पत्र र नक्साको प्रिन्ट प्रतिलिपि समेत मिसिलमा संलग्न रहेको छ। यसरी अर्कैको जग्गा र नक्कली नक्सा देखाएर रकम ठगी, आपराधिक विश्वासघात तथा सरकारी छाप र दस्तखत कीर्ते गरेको भन्दै प्रतिवादीहरू विरुद्ध कानुन बमोजिम सजाय र विगो भराउन मागदाबी लिइएको छ।
अदालतको थुनछेक आदेशमुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता सिताराम राउतले बहस गर्दै प्रतिवादीले जाहेरवालालाई रु. २६ लाख पर्ने जग्गा देखाई झुक्याएर अर्कै जग्गा पास गरिदिएकाले थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गर्नुभएको थियो। अर्कोतर्फ, प्रतिवादी घुरनी देवीका तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री रामचन्द्र यादव, श्री विनोद कुमार कर्ण, श्री लक्ष्मण प्रसाद राई, श्री पशुपति कार्की, श्री विरेन्द्र कुमार लाभ कर्ण, श्री जितेन्द्र कुमार यादव, श्री सन्तोष कुमार शर्मा, श्री मदन कुमार साह, श्री प्रशान्त कुमार साह, श्री सन्तोष सुवेदी, श्री ओम शंकर यादव र श्री प्रदिप कुमार यादवले उक्त कसूरमा प्रतिवादीको कुनै संलग्नता नरहेको भन्दै साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न माग गर्दै बहस गर्नुभएको थियो।
दुवै पक्षको बहस र मिसिल संलग्न प्रमाणहरूको अध्ययनपछि अदालतले प्रतिवादीलाई अहिले नै पूर्ण रूपमा निर्दोष मान्न नमिल्ने ठहर गरेको छ। यद्यपि, हाल उनलाई थुनामै राखेर कारबाही गर्नुपर्ने सम्मको अवस्था नदेखिएकाले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ (१) बमोजिम तोकिएको रु. ७०,००० धरौटी रकम बुझाएर तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो। अदालतको यो आदेशसँगै प्रतिवादी घुरनी देवी यादवले जेलबाहिरै बसेर कानुनी लडाइँ लड्ने बाटो खुलेको छ।








