भदौ २९ ,सिरहा ।
मिथिला क्षेत्रको प्रसिद्ध सांस्कृतिक पर्व चौठचन्द्र (चौरचन) सोमबार साँझ धार्मिक विधिपूर्वक धूमधामका साथ सम्पन्न भएको छ। भदौ शुक्ल चतुर्थीका दिन मनाइने यस पर्वमा मिथिलावासीले अस्ताउँदो सूर्य र उदाउँदो चन्द्रमाको पूजाआराधना गरेका छन्।
पर्वका अवसरमा ब्रतालुहरूले दिनभरि उपवास बसी साँझपख आँगनमा विशेष रूपमा लिपपोत गरेर ‘अरिपन’ (मण्डला) बनाएका थिए। उक्त मण्डलामा माटोको नयाँ भाँडोमा राखेको दही, गाईको दूध, केरा, मिठाई, मखानका साथै विभिन्न प्रकारका फलफूल र पकवानहरू प्रसादका रूपमा चढाइएको थियो।
साँझपख चन्द्रमाको दर्शन गर्दै फलफूल र प्रसाद हातमा लिएर मन्त्रोच्चारणसहित अर्घ्य अर्पण गरिएपछि यो पर्व सम्पन्न भएको हो। चौठचन्द्र पर्वमा चन्द्रमालाई पूजा गर्नाले कलंक र अपजसबाट मुक्ति मिल्ने तथा परिवारमा सुख, समृद्धि र आरोग्य प्राप्ति हुने जनविश्वास रहिआएको छ।
विशेष गरी तराई-मधेसका जिल्लाहरूमा यो पर्वलाई गणेश चतुर्थीकै दिन विशेष उत्साहका साथ मनाउने गरिन्छ। पर्व सम्पन्न भएसँगै ब्रतालुहरूले प्रसाद ग्रहण गरी परिवारका सदस्यहरूमा बाँडेका थिए।










